Breaking News

मोबाइलमा घन्टौँ घोत्लिँदा आँखाको ज्योति गुम्नेसम्मको खतरा

५ वर्षका सौरिस जोशीको केही दिनसम्म आँखा झम्झमाइ रह्यो। अभिभावकले विद्यालय नै पठाएनन् र घरमै उपचार खोजे। समस्या नसुल्झेपछि सौरिसलाई अल्का अस्पताल पुर्याइयो।

चिकित्सकले उनको आँखाको जाँच गरे, आहार तथा दैनिकीका बारेमा सोधे र कारण बताइदिए, ‘दैनिक ४­-५ घण्टा आइप्याडमा गेम खेल्नु।’
सौरिस बाबुको आइप्याडमा दैनिक ४­- ५ घण्टा लगातार गेम खेल्ने गर्थे जसले गर्दा उनको आँखा सुख्खा भई झिम्झिमाउने समस्या देखा पर्यो।

गेम खेल्न छाडेर एक महिनासम्म आइ ड्रप लगाएपछि भने उनको आँखा झिम्झिमाउन रोकियो। सौरिसमात्र हैन, थसिखेलका सौर्य ढुंगानालाई समेत टाउको दुख्ने समस्याले सताइरहन्छ। यसको प्रमूख कारण भनेको दैनिक ८ घण्टा कम्प्युटर स्कृनका अगाडि बसेर काम गर्नु रहेकोमा उनी जानकार छन्।

त्यसैले विशेषज्ञको सल्लाहमा उनी ‘टियर ड्रप’ लगएर आँखालाई सुख्खा हुनबाट सकेसम्म रोक्छन्। आँखा रोग विशेषज्ञका अनुसार लामो समयसम्म अँध्यारोमा स्मार्टफोन वा टिभीको स्क्रिन हेर्दा त्यसको जोखिम अझ बढी हुने गर्दछ।

बेलायतको साप्ताहिक रुपमा प्रकाशित हुने प्रतिस्ठित ‘दि न्यु इंगलेण्ड जर्नल अफ मेडिसिन’ को रिपोर्ट अनुसार बत्ती निभाई स्मार्टफोन, टिभी, कम्प्युटरको स्कृन लामो समयसम्म हेरिरहँदा त्यसले आँखाको ज्योती विस्तारै कम गराउँदै अन्धोपनसम्मको समस्या निम्त्याउँछ।

सो रिपोर्टले ती विद्युतीय सामाग्रीबाट निस्कने निलो प्रकाशले आँखालाई सुख्खा गराई रेटिनामा असर पुर्याएको र यो कार्य नियमित वषौँसम्म दोहोरिएपछि दुई जनाको ज्योती गुमेको उदाहरण दिएको छ।

नियमित रुपमा त्यसरी स्क्रिन हेर्ने कार्यको प्रभाव अस्थायी रुपमा आँखा झिमझिमाउने, पोल्ने, सुख्खा हुने, टाउको दुख्ने जस्ता समस्या देखापर्छन् भने दुरगामीरुपमा भने ज्योती नै गुम्ने खतरा हुने रिपोर्टमा बताइएको छ।

नेपालमा पनि मोबाइल, कम्युटर वा टिभीका स्कृनमा घन्टौँ बिताएका कारण आँखाका बिरामीको संख्या निकै बढेको छ। चिकित्सकका अनुसार मोतीबिन्दु वा उमेर ढल्दै गएपछि देखिने स्वभाविक आँखाका समस्या भन्दा चिलाउने, पोल्ने, आँशु आउने, टाउको दुख्ने जस्ता सामान्य समस्या लिएर आउनेको संख्या अत्याधिक बढेको छ।

आँखा रोग विशेषज्ञ डा. रञ्जना शर्माका अनुसारका पछिल्लो ५ वर्षमा यो समस्या ५० प्रतिशले बढेको छ। यो समस्या बढ्नुको एउटा प्रमुख कारण स्कृनमा लामो समयसम्म घोतलिनु पनि रहेको उनी बताउँछिन्।

‘ग्रामीणभन्दा शहरी क्षेत्रका मानिसमा आँखाका समस्या बढेको छ। स्कृनमा लामो समयसम्म बस्ने तथा प्रदुषण भोग्नुपर्ने हुनाले त्यसको प्रत्येक्ष प्रभाव आँखामा समेत परेको छ’ शर्माले भनिन् ‘ठूला आँखाका रोग भन्दा साना समस्या लिएर आउनेको संख्या पछिल्लो ५ वर्षमा ५० प्रतिशतले बढेको छ। यस्ता बिरामी मुलत धेरै समय गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने, अफिसमा काम गर्दा कम्प्युटर हेरिरहनु पर्नेहरु छन्।’

दैनिक घण्टौं अँध्यारोमा स्कृन हेरिरहँदा स्वभाविक उमेरभन्दा अघि नै दृष्टि शक्ति कम हुँदै जाने र ज्योति नै गुम्न सक्नेसम्मको रहने शर्मा बताउँछिन्।

शर्माको भनाईमा स्मार्टफोन, ल्यापट, डेस्कटप, टिभी, एलसिडी वा प्रोजेक्टर लगायतका स्कृन निरन्तररुपमा हेर्दा तिनका लक्षणलाई चिकित्सा विज्ञानको भाषामा ‘कम्युटर भिजन सिण्ड्रोम’ भनिन्छ।

समान्यतया प्रति मिनेट १५-­१६ पटक आँखा झिम्किनु पर्नेमा स्क्रिन हेर्दा भने एक मिनेटमा एक वा दुई पटक मात्र झिम्कन्छ। उनका अनुसार बच्चाहरुले लामो समयसम्म ल्यापटप वा स्मार्टफोनमा गेम खेल्दा नजिकको स्थानमा मात्र केन्द्रित भई आँखा थाक्ने गर्छ।

यसले गर्दा बच्चाका आँखा झिम्झिमाउने, चिलाउने, रातो हुने, आँशु झरिरहने, कसैकसैको आँखामा डेरोपना देखिने, नजिकको देख्न सक्ने तर टाढाको नसक्ने, दृष्टि दोष जस्ता समस्या देखापर्छन्।

त्यस्तै घण्टौँसम्म स्कृनमा घोत्लिने वयस्कको हकमा भने आँखा थाक्ने, सुख्खा हुने, आँशु आउने, टाउको दुख्ने, एलर्जी गराउने जस्ता समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन्।

यसरी धेरै बेरसम्म हेरिने स्कृनको दुरी व्यक्तिको नाकको ‘पोजिसन’ र ‘एंगुलेसन’ नमिलेको खण्डमा समेत त्यसले घाँटी तथा टाउको दुखाउँछ।

जोखिम न्युनीकरण कसरी गर्ने?
आँखाका समस्या न्युनीकरणका लागि लामो समयसम्म स्कृनमा हेर्ने कार्य कम गर्नुपर्ने डा. शर्मा बताउँछिन्। त्यस्तै स्कृनको ब्राइटनेस (चम्किलोपन) मिलाउने, घाँटी र स्कृनको ‘एंगुलेसन’ मिलाउनुपर्छ। यस्तो एंगुलेसन आँखा र स्कृनको ४५ डिग्री हुनुपर्ने शर्माको भनाई छ।

यसबाहेक हरेक २० मिनेटको अन्तरालमा आँखालाई २० सेकण्डसम्म आराम दिनु जरुरी हुन्छ। आराम दिँदा स्कृनमा नभई अन्य वस्तुमा हेर्ने र आँखालाई यताउती घुमाउने गर्नुपर्छ।

त्यस्तै आँखा निकै सुख्खा भएको छ भने बेलाबेलामा भिजाउने र आवश्यक्ता अनुसार ‘टियर ड्रप’ हाल्न सकिन्छ। यसबाहेक हिजोआज बजारमा ‘एण्टी रिफ्लेक्टिभ कोटिङ’ गरिएको चस्मा समेत पाइन्छ।

तिनको प्रयोगले समेत यो समस्या न्युनीकरण गर्न सकिने शर्मा बताउँछिन्। यसले प्रकाशलाई रिफ्लेक्ट गर्ने हुनाले आँखालाई फाइदा पुर्याउँछ।
यसबाहेक शहरी क्षेत्रको प्रदुषण तथा अस्वस्थकर खानेकुरा पनि उत्तिकै जिम्मेवार रहेको विश्लेषण उनको छ।

आँखाको सुख्खापनमा हरियो सागपात तथा पानीको पनि भूमिका रहन्छ। त्यसैले प्रशस्त हरियो खानेकुरा खाने र पानी पर्याप्त पिउने गर्नुपर्छ।
यसबाहेक एसी, फ्यानको प्रयोगले आँखालाई समेत थप सुख्खा बनाउँछ। त्यसैले ड्राइभिङ गर्दा वा गर्मी वा जाडो मौसममा सकेसम्म यी बस्तुको प्रयोग कम गर्ने गर्नुपर्छ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *