भाषा र सांस्कृतिक ‘हेजेमोनी’ को द्वन्द्व

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई किन ‘सम्माननीय’, ‘माननीय’, ‘ज्यू’ भनेर सम्बोधन गरिएन भन्ने प्रश्न उठेका छन्। नेपाली कांग्रेसले त्यसमा कडा टिप्पणी नै गरेको छ। यसका बारेमा केही छलफल र बहस पनि भएका छन्। तर किन त्यस्तो सम्बोधन गरियो र यसबाट के गर्न खोजिएको हो भनेर बहस सुरु भएको छैन। यो बुझ्न जरुरी छ खासगरी कांग्रेस पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूले।

कम्युनिस्टहरू बलियो बहुमतको साथ सत्तामा आएका छन्। उनीहरूले आफ्नो सिद्धान्तअनुसार नै समाज परिवर्तनको उद्देश्य राखेका छन्। यसलाई संविधानले बलियो आधार र समर्थन दिएको छ। कम्युनिस्टहरूले संविधानलाई आफ्नो तरिकाबाट प्रयोग गर्दै आफूले सोचेअनुसारको समाज बनाउने प्रयास गर्नेछन्। यस्तो मौका कांग्रेसलाई २००७ को परिवर्तनपछि आएको थियो। केही हदसम्म २०४६ को परिवर्तनपछि पनि त्यस्तो मौका कांग्रेसले पायो, तर उक्त दलले समाज परिवर्तनको मुद्दा अंगाल्न सकेन। केवल आर्थिक मुद्दामा केन्द्रित रह्यो।

२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि उदार अर्थतन्त्र र भूमण्डलीकरणको त्यतिबेलाको बलियो हावाले आफ्नै तरिकाबाट समाजमा परिवर्तन ल्यायो। विकसित पश्चिमा समाजका मूल्यमान्यताले छोप्यो। अर्को शब्दमा भन्दा ‘पश्चिमाको सांस्कृतिक हेजेमोनी’ लाई स्थापित हुन जानी नजानी मद्दत पुर्‍यायो।

अहिले हाम्रो पहिल्यैदेखि विद्यमान र पश्चिमा मुलुकबाट आएको मूल्यमान्यताको तनावमा नेपाली समाज बाँचिरहेछ। यहाँ एकैचोटी झन्डै तीन सय वर्षको समयमा हामी बाँचिरहेका छौं। बीसौं र एक्काइसौं शताब्दीको सामाजिक स्थिति र पन्ध्रौं र सोह्रौं शताब्दीदेखिको सांस्कृतिक निरन्तरतामा नेपाली एकैचोटी बाँचिरहेछ।

नेपाली समाजमा तँ, तिमी, तपाईं, हजुर, जी, ज्यू, खा, खानुस्, खाइबक्सियोस्, आइज, आउनुस्, आइबक्स्योस्, ज्युनार होस् जस्ता सम्बोधन र शब्दहरू व्याप्त छन्। यिनै शब्दहरूले मानिस कुन सामाजिक स्तरको रहेछ भन्ने जनाउँछ। तल्लो तहको लागि ‘तँ’, त्यसपछि ‘तिमी’, ‘तपाईं’, ‘हजुर’ सम्म पुग्छ। अझै सम्बन्धमा उच्चताको भावना आएन भन्ने लाग्यो भने ‘सरकार, ‘राजा’ पनि भनिन्छ।

यो सबैले हाम्रो समाज असमान छ र यो असमानतालाई हाम्रो समाजले जानी÷नजानी स्वीकारेको छ भन्ने जनाउँछ। यस्ता सामाजिक संकेतहरूले नदेखिने तरिकाबाट समाजलाई जकडेका छन्। यसैलाई माक्र्सवादीहरूले ‘सांस्कृतिक हेजेमोनी’ भनेका हुन्। यसलाई तोडेरमात्रै सामाजिक समानता स्थापित गर्न सकिन्छ। यही कुरा यो कम्युनिस्ट सरकारले गर्न खोजेको हो। आम नेपाली र खासगरी कांग्रेसका नेता, कार्यकर्ता र समर्थकले बुझ्नुपर्ने कुरा यही छ। यो समाज परिवर्तनको एजेन्डाभित्र पर्छ जसलाई २००७ सालको क्रान्तिपछि कांग्रेसले सुरु गर्‍यो। राजा र त्यतिबेलाका सभ्रान्त र शासकले त्यो बुझेर नै २०१७ को घटना गराएका हुन्। २००७ को परिवर्तनले गहिरोरूपमा जरा गाडेको सामन्ती संस्कृतिलाई उखेल्ने प्रयास गरेको थियो।

२०१७ को राजाको कदमले त्यस्तो समाज परिवर्तनको आन्दोलनलाई रोकेको हो। त्यतिबेलादेखि नै कांग्रेसजनलाई चिन्ने भनेको उनीहरूले प्रयोग गर्ने शब्द, खानपान र समाजको तल्लो तह (दलित,उत्पीडित) सँगको सम्बन्धको आधारमा हुने गथ्र्यो। त्यसैले सबैलाई ‘तपाईं’ भन्नु ‘जयनेपाल भन्नु’ दलितहरूले ‘जदौ’ नभन्नु, ‘बक्सियोस्’ दरबारिया र नोकरशाहीको भाषा हो। यसले सामन्ती संस्कृति झल्काउँछ भनेर त्यतिबेला कांग्रेसको संगतमा आउनेलाई सिकाउने गरिन्थ्यो। कांग्रेसजनको घरमा ‘बक्सियोस्’ भन्नु लाज लाग्ने कुरा थियो। त्यो त केवल दरबारको नजिक शाही सेनामा काम गर्ने, शाही ठकुरी आदिले भन्ने शब्द मानिन्थ्यो।

त्यसैले क्रान्तिपछिको सरकारलाई केवल ‘नेपाल सरकार’ भनेर सम्बोधन गरिन्थ्यो। पछि मात्रै ‘ श्री ५ को सरकार’ भन्न थालिएको हो। २०१७ को घटनापछि राजा बलियो हुँदै गएपछि त यस्ता धेरै विशेषणहरू थपिँदै गए र राजालाई विष्णुको अवतारसम्म भनियो। दरबारियाले जस्तै नगर्दा आफू मूलधारको सुसंस्कृत व्यक्ति नठहरिने भएकाले चाँडोचाँडो यो संस्कृतिलाई अंगाल्ने र फैलाउने काम शासक तहमा पुग्न चाहनेहरूले गरे। पञ्चायतकालमा यसले बलियो रूप लियो। यसरी ०१७ पछिको सामाजिक प्रतिगमनको सिकार सबैजसो मानिसहरू भए।

पञ्चायतकालमा कांग्रेसको संगतमा आउने सबैलाई ‘तपाईं’ भन्नु ‘जय नेपाल भन्नु’ दलितहरूले ‘जदौ’ नभन्नु, ‘बक्सियोस्’ दरबारिया र नोकरशाहीको भाषा हो भनिन्थ्यो। यस्ता शब्दले सामन्ती संस्कृति झल्काउँछन् भनेर सिकाउने गरिन्थ्यो।

एउटा व्यक्तिगत अनुभव यहाँ उल्लेख गर्न चाहन्छु। २००७ को क्रान्तिमा समेत सक्रिय भूमिका खेलेको मेरो परिवारभित्र पनि पञ्चायतको सांस्कृतिक हेजेमोनी भित्रियो। सुसंस्कृत देखिन हाम्रो घरमा पनि सकी–नसकी र अप्ठेरो मान्दै ‘बक्सियो’ भन्ने प्रयासहरू भए। एकदिन मेरो घरमा ठूलो ज्वाईं आए। ज्वाईंलाई मान गर्नुपर्छ भन्ने बलियो विश्वासमा उनको गोडा धोइदिनुपर्ने हुन्छ बाहुन समाजमा। त्यसैअनुसार अंखोरामा पानी लिएर मेरो दाइले पिंढीमा बसेका मेरो ज्वाईं (जो हाम्रो परिवारको पहिलो ज्वाईं थिए) लाई ‘आइबक्स्योस् तपाईंको गोडा दिनोस्’ भन्न पुगेछन् ‘गोडा दिइबक्स्योस्’ भन्नु पर्नेमा। त्यसो भन्ने मेरो माहिलो दाइ कृष्णचन्द्र नेपाली अहिले प्रदेश—४ मा प्रमुख प्रतिपक्षी दलको नेता छन्।

कतिपय खस भाषाभन्दा फरक भाषा बोल्ने जातिहरूले ‘सुसंस्कृति’ बन्न गरेको प्रयासमा हाँसो लाग्ने परिस्थिति बनेको हामी सबैले देख्दै र सुन्दै आएका छौं। कसैले ‘ए बाजे तेरो कुकुर आइबक्सियो’ भने रे भनेर हाँस्ने हामी धेरै छौं। यस्ता घटना÷कथा पञ्चायतकालमा दुःख भोगेका धेरै कांग्रेसीलाई थाहा छ। यस्तो भाषाको प्रयोगले सामन्ती संस्कृति झल्काउँछ।

२०४६ को परिवर्तनपश्चात कांग्रेसको परिचय परिवर्तन हुन थाल्यो। यसले आफ्ना सामाजिक परिवर्तनको एजेन्डालाई त्यतिबेलाको पश्चिमी आँधीहुरीको बेगमा बिर्सियो वा याद गर्नेहरूले यसलाई महत्व दिएनन्। कांग्रेसले स्वतन्त्र समाज निर्माण आफैं हुन्छ भन्ने सोच्यो, अथवा सोच्दै सोचेन। नत्र हलो क्रान्तिबाट सुरु भएको समानताको एजेन्डा, छुवाछूतविरुद्धको एजेन्डा, विधवा तथा एकल महिलाको पीडाजस्ता समाजमा जरो गाडेको भेदभावको संस्कृतिलाई परिवर्तन गर्न सक्रियता कांग्रेसले नदेखाएकै हो।

बैतडीका दलितले भण्डारीहरूले भाक्कल गरेर काटेको राँगोको मासु बहिष्कार गर्नुका कारण कांग्रेसले किन खोजेन ? तराईमा दाइजोको पीडा निर्मूल पार्न किन अभियान सुरु भएन ? किन आफ्नो घर र वरिपरि ‘हजुर’, ‘बक्सियोस्’ को संस्कृति भित्रियो ? किन समानताको संस्कृति बिर्सियो ? भन्ने कुरा कांग्रेसका नेता कार्यकर्ताले गम्भीर भएर विचार गर्नुपर्छ।

अहिले कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले किन ‘सम्माननीय’, ‘माननीय’ र ‘ज्यू’ भनिनन् भनेर प्रश्न उठाउँदा कांग्रेसले आफ्नो सामाजिक समानताको एजेन्डा बिर्सेको हुनसक्छ। ख्याल गर्नुपर्ने हुन्छ। याद राखौं, बीपीले कसैलाई ‘हजुर’ भनेनन्। त्यही संस्कार होला कोइरालाहरू जोसँग कुरा गर्दा पनि ‘यहाँ’ मात्र भन्छन्। कांग्रेसको संस्कृति समानताको संस्कृति हो। कतै कांग्रेसले अरूको संस्कृतिको हेजेमानीलाई स्वीकार गरेर आफ्नो बिर्सेको त हैन। नत्र यो जी हजुरीबारे किन समय खर्च गर्नुपर्ने ?

नियम, प्रोटोकल मिचिएको हो भन्ने स्पष्ट भन्नुपर्‍यो नत्र अमुक संस्कृतिलाई संरक्षण नदिएकै राम्रो हुन्छ।

यसले कांग्रेसलाई यथास्थितिवादी र सामन्ती चलनको हिमायती बनाउँछ। हामी सबैलाई थाहा छ, यस राष्ट्रको आधुनिकीकरणका र समानताको संघर्ष कांग्रेसकै एजेन्डा हो। कम्युनिस्टहरूले यो एजेन्डालाई आफ्नो बनाउने प्रयास गर्दैछन्। उनीहरूको भाषामा ‘सांस्कृतिक हेजेमोनी’ तोड्ने प्रयास गर्दैछन्। कांग्रेसको संस्कृतिलाई आफ्नो बनाउने प्रयास गर्दैछन्।

जाजरकोटमा माओवादीले ‘ढक’ होइन ‘किलो’ प्रयोग गर भनेर व्यापारीलाई तर्साउँदा होस् वा विधवा महिलाले चाहेको कपडा लगाए हुन्छ भन्दा होस्, दलितलाई अलग धाराबाट पानी भर्नु नपर्ने बनाउँदा होस् वा जुवातासविरुद्धको अभियान चलाउँदा होस्, कांग्रेसकै समाज परिवर्तनको अपुरो एजेन्डालाई अगाडि बढाएको हो भनी मान्नुपर्छ। उसको तरिका फरक पर्‍यो होला। त्यो फरक विषय हो।

त्यसैले अब आफ्नो समाज परिवर्तनको एजेन्डालाई विचार गरेर मात्र कांग्रेसले समर्थन र विरोध गर्नु उचित हुन्छ। यदि समानताको एजेन्डालाई सघाउने काम गर्छ भने विरोध नगर्दा राम्रो हुन्छ। तरिका गलत छ भने विरोध गर्नुपर्छ, समानताको विषय वा मुद्दालाई होइन। कांग्रेस विगत केही समयदेखि गलत मूल्यमान्यतालाई प्रश्रय दिएर प्रताडित भएको छ। यसभित्र ठूलो, सानो, पदीय हैसियत, मानमर्यादा जस्ता विषयले नराम्रोसँग जरा गाडेका छन्।

कुनै भेला भयो, मञ्च बन्यो, बोल्नुपर्‍यो, बोलाउनुपर्‍यो भने लामा विशेषणहरू लगाएर आफ्ना साथीलाई मञ्चमा बोलाउने चलन बढेको छ। नाम बोलाउँदा ‘माननीय’, ‘पूर्वसांसद’, ‘पूर्वमन्त्री’, ‘पूर्व केन्द्रीय सदस्य’, ‘आयोगका पूर्व माननीय’ आदि विशेषण लगाएर बोलाइन्छ। त्यस्तो नगरे कार्यक्रम सञ्चालकको हुर्मत लिएको देखिएको छ। यो कांग्रेसले संस्कृति बिर्सेकोले भएको हो। कांग्रेसको संस्कृति ‘प्रिय साथी’ मात्र भन्ने हो। लेख्दा ‘ श्री मोहनजी’, ‘प्रिय साथी’ आदि मात्र भन्ने हो। कांग्रेसको भाषा समानता दर्शाउने हुनुपर्छ। यो कांग्रेसजनले याद गर्नुपर्छ, सिक्नुपर्छ।

कम्युनिस्टले कांग्रेसले लिएको लोकतान्त्रिक संस्कृतिलाई कांग्रेसको ‘सांस्कृतिक हेजेमोनी’ को रूपमा हेरेका छन्। यो उनीहरूको सबैभन्दा ठूलो चुनौती पनि हो। त्यसलाई परिवर्तन नगरी उनीहरूले सोचेको समाज निर्माण हुन सक्तैन भन्ने उनीहरूले बुझेका छन्। त्यसैले अब विद्यालयमा पढिने भाषा, विषय, कथा, इतिहास सबै नै परिवर्तन गर्ने उनीहरूको प्रयास हुनेछ भन्ने कुरा जगजाहेरै छ। कांग्रेसले यसको प्रतिवाद गर्न आफ्नो संस्कृतिलाई बुझेर संरक्षण गर्नैपर्छ। यसको आधारमा नै कम्युनिस्टहरूका क्रियाकलापको समर्थन वा विरोध गर्नुपर्छ।

—पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*