हटेन लैङ्गिक विभेद

काठमाडौँ, १० मङ्सिर (रासस) ः बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको सुन्न चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोरीले यस्तो लगाउनुपर्छ, खानुपर्छ र यही गर्नुपर्छ भन्ने सामाजिक धारणामा परिवर्तनको खाँचो छ ।”

विकले महिला त्यसमा पनि दलित हुँदा जीवनमा धेरै विभेद भोग्नुभयो । विद्यालयमा पढ्दा सधैँ पहिलो हुनुहुने उहाँले विद्यालय हातामा रहेको सरस्वतीको मन्दिरमा पूजा गर्न पाउनुभएन । माओवादी आन्दोलन हुँदै जिल्लाको राजनीतिमा सक्रिय हुँदा विकले अनेक आरोप सहनुपरेको थियो । अहिले पनि बेलाबखत त्यस्ता आरोपबाट मुक्त हुनुभएको छैन । मोटरसाइकल चढेर कहिले एउटा ठाउँ त एकै छिनपछि अर्काे ठाउँ पुगेको देख्दा पुरुष राजनीतिज्ञ छक्क पर्छन् । धेरैले छोटो समयमा धेरै ठाउँमा पुग्नुलाई चरित्रसँगसमेत जोडेर केहीले हेर्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “समाजले अहिले पनि महिलालाई सक्रिय भएर विभिन्न ठाउँमा पुगेकोभन्दा शान्त भएर एकै ठाउँमा बसेको देख्न मन पराउँछ ।”

देशको कानून बनाउने ठाउँ प्रतिनिधिसभामा पुग्दासमेत उहाँले म ‘सांसद मात्रै होइन महिला’ हो भन्ने महसुस गरिरहनुपरेको छ । प्रत्यक्षमा उठ्न खोज्दाखोज्दै महिला त्यसमा पनि दलित भएकाले समानुपातिकमा चित्त बुझाउनुप¥यो । ठूला भनिने नेताले समानुपातिकमा हामी जान पाउँदैनौँ तिमीहरु पाउँछौँ भन्ने गरेका थिए । विक जस्तै समानुपातिक सांसदले समेत आफूलाई ठूलो ठान्ने उहाँ बताउनुहुन्छ ।

विक भन्नुुहन्छ, “ मञ्चमा बस्दा होस् वा बोल्दा वा आसनग्रहणका क्रममा पुरुष सांसदले महिलाभन्दा आफैँ ठूलो हुँ भन्ने सोच्छन् ।”

ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन सामाजिकरुपमा अगाडि रहेका महिलाले समेत विभेद भोग्नु परिरहेको छ । ग्रामीण क्षेत्रका महिलाले घरभित्रै घरेलु हिंसा भोगिरहेका छन् । शिक्षित र सामाजिकरुपमा चिनिएका महिलाले आफ्नो कार्यस्थलमा सहकर्मीबाट असमान व्यवहार भोगिरहेका छन् ।

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि लडिरहँदा देबु पराजुली आफैँले समेत पटकपटक असमान व्यवहार भोग्नुपरेको छ । महिला त्यसमा पनि अपाङ्गता भएको महिला भएकाले उहाँले शिक्षादेखि रोजगारीसम्मका लागि धेरै समस्या भोग्नुप¥यो । अपाङ्गता भएकी महिला किन पढ्नुप¥यो र भन्नेदेखि पढेर पनि के नै गर्न सक्ने हो र भन्ने कुरा उहाँले बाल्यकालदेखि सुन्दै आए पनि हरेस खानु भएन । पराजुृली भन्नुहुन्छ, “कतै लिखितमा राम्रो अङ्क ल्याउँदा पनि अन्तरवार्तामा अपाङ्गता देख्दा बेवास्ता गर्ने त कतिले काम नै नगरी तलब दिन्छु भन्नेसम्म देखेँ ।”

अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । उहाँका धेरै फेसबुके साथीले फेसबुक र ट्युटरमा बोल्ने र फोटो र स्टाटसमा प्रतिक्रिया गर्छन् । फेसबुकमा मात्रै चिनेका भरमा उनीहरु भेट्न मरिहत्ते गर्छन् तर एकपटक भेटेपछि उनीहरु बोल्न छाड्ने गरेको गुनासो गर्दै पराजुली बताउनुहुन्छ, “अपाङ्गता देखेर पनि बोलिरहने साथी थोरै मात्रै हुन्छन् ।”

नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्यसमेत रहनुभएकी नायिका करिश्मा मानन्धरलाई गत वर्ष सम्पन्न निर्वाचनमा श्रीमान् विनोद मानन्धरले मतदाता नामावलीमा नाम नलेखेको विषय उठाउँदा धेरैले टिप्पणी गरेका थिए । धेरैले उहाँलाई घरको कुरा बाहिर ल्याएको भनेका थिए । १४ वर्षको उमेरमै चलचित्र क्षेत्रमा छिर्नु भएकी उहाँमा पहिले राजनीतिमा चासो थिएन । अहिले पार्टीको कामले जिल्लाजिल्ला पुग्दा महिला अझै धेरै अन्योलमा रहेको नायिका करिश्माको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, “पार्टी प्रवेश भनेर टीका लगाउँदासमेत उनीहरुलाई म के गरिरहेको छु र किन गरिरहेको छु भन्ने जानकारी छैन ।” ग्रामीण क्षेत्र र शहरी क्षेत्र दुवैमा फरक प्रकृतिको भए पनि विभेद कायम छ । ग्रामीण क्षेत्रमा मात्रै हिंसाका घटना हुन्छन् भन्ने आम धारणा गलत भएको अधिकारकर्मी बताउँछन् ।

शहरी क्षेत्रका शिक्षित महिलासमेत पटकपटक असमान व्यवहार भोग्न बाध्य छन् । आफ्नो क्षेत्रमा सक्रिय हुँदा पनि महिलाले के गर्न सक्छ र भन्ने गरेको उनीहरुको अनुभव छ । महिला त्यसमा पनि दलित, मधेशी, अपाङ्गता भएका महिलाले सामाजिक र आर्थिकरुपमा सक्षम हुँदासमेत समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको सम्बद्ध व्यक्तिको गुनासो छ । धेरैले महिला भएकै कारण अवसर पाएका छैनन् । अवसर पाएकाले समेत महिलाले केही गर्न सक्दैन भन्ने धारणाका कारण अघि बढ्न नसकेको उनीहरूको भनाइ छ ।

You might also like

Leave A Reply

Your email address will not be published.